काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ मा जङ्गली हात्तीको बथानले आक्रमण गर्दा एक वृद्धाको मृत्यु भएको छ। गएराति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा पसेको हात्तीको बथानले आक्रमण गर्दा ६० वर्षीया लक्ष्मी डगौंराको घटनास्थलमै मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय झलारीका अनुसार शुक्लाफाँटा नगरपालिका–२ निवासी लक्ष्मी डगौंराको हात्तीको आक्रमणबाट ज्यान गएको हो।
स्थानीय बासिन्दा छलिलाल डगौंराका अनुसार मध्यराति निकुञ्जबाट निस्किएको जङ्गली हात्तीको बथान तारापुर शिविरमा प्रवेश गरेको थियो। त्यसबेला लक्ष्मी आफ्ना श्रीमान् मोहन डगौंरासँग घरमै सुतिरहेकी थिइन्। अचानक हात्तीको बथानले घरमा आक्रमण गरी पूर्ण रूपमा भत्काउनुका साथै लक्ष्मीलाई कुल्चिएर मारेको थियो।
हात्तीको आक्रमणबाट जोगिन उनका श्रीमान् मोहन भने भाग्न सफल भएका छन्।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय झलारीको प्रहरी टोली, नेपाली सेना र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रशासनको संयुक्त टोली घटनास्थल पुगेको थियो। सुरक्षा निकाय तथा निकुञ्ज प्रशासनले हात्तीको बथानलाई पुनः निकुञ्जतर्फ फर्काउने प्रयास गर्नुका साथै घटनासम्बन्धी आवश्यक कानुनी प्रक्रिया अघि बढाएका छन्।
संरक्षित क्षेत्र आसपासका बस्तीमा जङ्गली हात्तीको आवागमन र आक्रमणका घटना दोहोरिन थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। मानव–वन्यजन्तु द्वन्द्व बढ्दै जाँदा ग्रामीण बस्तीका नागरिकको जनधनको सुरक्षा चुनौतीपूर्ण बन्दै गएको छ।
यस घटनाले निकुञ्ज आसपासका बस्तीमा वन्यजन्तुबाट हुने जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणाली र स्थानीयको सुरक्षाका लागि प्रभावकारी उपाय अपनाउनुपर्ने आवश्यकता पुनः उजागर गरेको छ।


तपाईको प्रतिक्रिया !