प्रधानमन्त्री बालेन शाहद्वारा भाइटीकाको शुभकामना, प्रेम र आत्मीयता प्रगाढ बनाउने पर्व भएको उल्लेख

NEWS DESK
२०८३ कार्तिक २५, बुधवार १०:०९ बजे

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले यमपञ्चकको अन्तिम दिन अर्थात् भाइटीकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री शाहले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई थप प्रगाढ बनाउन प्रेरणा प्रदान गर्ने बताएका छन्।

भाइटीकाका अवसरमा जारी शुभकामना सन्देशमा उनले यस पर्वसँग जोडिएको पौराणिक मान्यतासमेत स्मरण गरेका छन्।

सन्देशमा उल्लेख भएअनुसार पौराणिक कथाअनुसार कार्तिक शुक्ल द्वितीयाका दिन बहिनी यमुनाको निमन्त्रणामा यमराज उनको निवासमा पुगेका थिए। त्यस अवसरमा यमुनाले दाजु यमराजलाई विधिपूर्वक टीका तथा पूजा गरी आदरसत्कार गरेकी थिइन्।

बहिनीको प्रेम, निष्ठा र आतिथ्यबाट प्रसन्न भएका यमराजले यस दिन बहिनीबाट टीका तथा पूजा ग्रहण गर्ने दाजुभाइलाई मृत्युको भयबाट मुक्ति मिल्नुका साथै दीर्घायु, सुस्वास्थ्य र सौभाग्य प्राप्त हुने वरदान दिएको जनविश्वास रहेको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्।

यही धार्मिक तथा सांस्कृतिक विश्वासका आधारमा भाइटीकाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै श्रद्धापूर्वक पूजा गर्ने तथा दुबो, मखमली र सयपत्री फूलका माला लगाइदिने परम्परा रहेको उनले बताएका छन्।

त्यसैगरी, भाइटीकामा ओखर फुटाउने, तेलको रेखाले छेक्ने, सप्तरङ्गी टीका लगाउने र विभिन्न मिठामिठा परिकार खुवाउने चलन रहेको पनि सन्देशमा उल्लेख छ।

टीका ग्रहण गरेपछि दाजुभाइले समेत आफ्ना दिदीबहिनीलाई गच्छेअनुसार उपहार तथा दक्षिणा प्रदान गरी आशीर्वाद लिने परम्पराले पारिवारिक सम्बन्ध र आपसी सद्भावलाई थप बलियो बनाउँदै आएको प्रधानमन्त्री शाहको सन्देशमा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्