भक्तपुर । नगरपालिकामा नगरप्रमुख(मेयर) नै कार्यकारी पद हो । प्रशासनिक नेतृत्व गर्ने प्रमुख प्रशासकीय अधिकृत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएको हुन्छ । तर, भक्तपुरको सूर्यविनायक नगरपालिकामा भने मेयरभन्दा अधिकृत शक्तिशाली छन् । सिन्धुपाल्चोक जिल्ला विकास समितिबाट कानुन बिपरीत सूर्यविनायक नगरपालिकामा सरुवा भएर आएका र राजस्व अधिकृत तथा सूचना अधिकारीको दोहोरो जिम्मेवारी पाएका अनिरुद्र नेपाल नै हर्ताकर्ता हुन् ।
जग्गाका कारोबारीदेखि ईटाभट्टा र ठेकेदारहरुसम्म सबै सेटिङ उनैले मिलाउने गरेका छन् । मेयरलाई समेत केही जान्दैनन् भन्दै उनले प्रमुख प्रशासकीय अधिकृतलाई आफ्नै मुट्ठीमा रहेको बताउँदै जग्गाका कारोबारीदेखि ठेकेदारसँग सेटिङ मिलाउने गरेका छन् । भूमाफियासँगको जग्गा प्लटिङको सिफारिस गर्ने काम पनि अनिरुद्रले नै गर्दै आएका छन् । भूमाफियाहरुले उनीसँग कुरा मिलाएपछि मात्र सूर्यविनायक नगरपालिकाबाट जग्गा सिफारिस प्रक्रिया अगाडि बढ्ने गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद कँडेल त अनिरुद्र नेपालको सहायक जस्तै भूमिकामा छन् । कँडेल पदले प्रमुख प्रशासकीय अधिकृत भए पनि भूमिकाका हिसाबले अनिरुद्र नै हुन् भन्ने जोकसैले सूर्यविनायकबासीले महसुस गर्दै आएका छन् ।
सूर्यबिनायक नगरपालिकाका सूचना अधिकारीसमेत रहेका बरिष्ठ राजस्व अधिकृत अनिरुद्रको इशारामा चल्ने र उनले दिएकोमा चित्त बुझाउने भएकाले प्रमुख प्रशासकीय अधिकृत कँडेलको ३ पटक सरुवा भए पनि अनिरुद्रले नै थमौती गराउँदै आएका छन् । स्रोतका अनुसार प्रमुख निर्वाचन आयुक्त दिनेशप्रसाद थपलियालाई प्रयोग गरी अनिरुद्रले कँडेलको सरुवा रोकाउँदै आएका छन् । आफूले जे भन्यो त्यही गराउन सक्ने भएकाले नेपालले थपलियालाई भनेर उनको सरुवा रोक्न सफल हुँदै आएका हुन् ।
दिनेश थपलिया सिन्धुपाल्चोकको एलडीओ हुँदा अनिरुद्र त्यहीँ कार्यरत थिए । अनिरुद्रले थपलियालाई त्यतिबेला थपलियाका उनका सबै चाहना पूरा गरेकाले उनको सम्बन्ध प्रगाढ रहिआएको छ । त्यही सम्बन्धको आधारमा उनी कानुन बिपरीत सिन्धुपाल्चोकको जिल्ला समन्वय समितिबाट सूर्यबिनायक नगरपालिकामा सरुवा भएका हुन् ।
उनले प्रमुख आयुक्त थपलियामार्फत् सामान्य प्रशासन मन्त्रालयमा दबाब दिएर आफू अनुकूलका कँडेललाई थमौती गराएका छन्् । दिनेश थपलियाकै आडभरोसा पाएकाले अनिरुद्रले नगरपालिकाका इन्जीनीयरदेखि सबै कर्मचारीलाई समेत थर्काउने र तर्साउने गरिरहेको स्रोतले बताएको छ ।
अनिरुद्र सूर्यविनायक नगरपालिकाको राजस्व शाखाको प्रमुखमा लामो समयदेखि ढलीमली गर्दै आएका छन् । नियमतः अनिरुद्र नेपाल आन्तरिक लेखापरीक्षकका रुपमा सरुवा भएर आएका हुन् । लेखाको थोरै पनि जानकारी राख्ने जो कोहीलाई पनि राम्रैसँग थाह छ कि आन्तरिक लेखापरीक्षकले राजस्वको काम गर्न नियमले मिल्दैन । यो लेखाको मान्यताअनुसार काम गर्न पाईदैन ।
तर, आन्तरिक लेखापरीक्षक नेपालले लामो समयदेखि सूर्यविनायक नगरपालिकामा राजस्वको प्रमुख भएर काम गर्दै आएका छन् । २०७४ सालको अन्त्यतिर, सूर्यविनायक नगरपालिकामा उनी आएका हुन् । उनी नगरपालिकामा आएदेखि नै उनले नगरपालिकाको राजस्व शाखाको प्रमुख भएर काम गर्दै आएका छन् ।
सिन्धुपाल्चोक जिल्ला विकास समितिबाट सूर्यविनायक नगरपालिकामा उनी चोरबाटोबाट सरुवा भएर आएका हुन् । उनी व्यवसायी एवं तत्कालीन सूर्यविनायक वडा नं ८ का वडाध्यक्ष एव अहिलेका वागमती प्रदेश सभासद किरण थापाको समन्वयमा सूर्यविनायकमा आएका हुन् । तत्कालीन समयमा अर्थात् उनी आउँदा स्थानीय निकायको नियमावली अनुसार स्थानीय निकायको एक जिल्लाको कर्मचारी अर्को जिल्लामा सरुवा भएर जान मिल्दैनथ्यो । अहिले पनि मिल्दैन ।
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको कर्मचारी सरुवा सम्बन्धी नियमावलीलाई लत्याएर सूर्यविनायक नगरपालिकामा सरुवा हुन सफल भएका अनिरुद्रले नगरपालिकाका सबै शाखाका काममा हस्तक्षेप गर्दै आएका छन् । उनले आवश्यकता भन्दा बढी अरु शाखाको काममा हस्तक्षेप गरेकोमा असन्तुष्ट कर्मचारीहरुले मेयर, उपमेयर, वडाअध्यक्षहरु र प्रमुख प्रशासकीय अधिकृतलाई उनको चलखेलका बारेमा गुनासो गरेको भएता पनि त्यस सम्बन्धमा कतैबाट पनि आजसम्म सुनुवाई नभएको पीडित कर्मचारीहरु वताउँछन् ।
जवकि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नियमावलीमा स्थानीय तहको कर्मचारी सरुवा सम्बन्धी यस्तो व्यवस्था रहेको छ–दफा ७ को ५ मा स्थानीय तहमा समायोजन भएका साविक स्थानीय सेवाका कर्मचारीलाई समायोजन भएको सम्बन्धित जिल्लाको गाउँपालिका वा नगरपालिकाको कार्यक्षेत्र भन्दा वाहिर सरुवा, काज वा अन्य कुनै तरिकाबाट अर्कोे निकायमा काम गर्ने गरी खटाइने छैन भन्ने व्यवस्था समेत रहेको छ ।
सबैतिर सेटिङ मिलाउन सिपालु भएकै कारण उनी स्थानीयस्तरका नेतादेखि माथिल्लो तहका कर्मचारीका समेत प्रिय भएका छन् । नगरपालिकाको राजस्व विभागका प्रमुख भएका उनले नगरपालिकाभित्र हुने ढुंगाखानी, माटो कटान, खानी उत्खनन् सिफारिस दिने क्रममा व्यवासायीहरुलाई लाभ हुने र नगरपालिकाको राजस्व कम गरेर घुस लिएर काम गर्दै आउने गरेका छन् । नगरपालिकाभित्र करिब १४ वटा ईटाभट्टा छन् । उनले ती ईटा व्यवसायीसँगको सेटिङमा काम गर्दै आउने गरेका छन् ।
नगरपालिकाले कोरोना महामारीपछि भट्टा बन्द गर्ने नीतिगत निर्णय गर्न लागेको व्यवासायीलाई अग्रिमरुपमा जानकारी गराएर पनि प्रत्येक भट्टाबाट उनले कोरानापछि मोटो रकम घुस उनले असुली गरेका छन् । तर, सो रकम उनले तत्कालीन समयमा सम्बन्धित ब्यक्तिसम्म नपु¥याएको चर्चा छ ।
कोरोनापछि ईटाभट्टा संचालन गर्ने बेलामा आत्तरिक रुपमा उनको कमिसनमुखी चरित्रका कारण नगरपालिका बदनाम भएको भनेर ठूलै हल्लीखल्ली भएको थियो । पछि उनी लगायत स्थानीयस्तरका केही नेताहरुको सक्रियतामा गुपचुप पार्ने काम भएको स्रोतले जानकारी गरायो ।
त्यतिमात्रै होइन, नगरपालिकाभित्र रहेका ठूला विद्यालय र कलेजमा समेत अनिरुद्रले लामो हात गर्ने गरेको चर्चा हिजोआज नगरपालिका परिसर वरपरका चियापसलहरुमा गफको विषय बन्ने गरेको छ । जस्तो काठमाडौं वल्र्ड स्कूलमा नगरपालिकाको पहँुचले छात्रवृति दिलाउन लगाउने र सो विद्यालयहरुमा छात्रवृत्ति दिलाएबापत केही विद्यार्थीसँग ५० प्रतिशत उनले नगरपालिकाको नाममा घुस माग्ने गरेको आरोप छ । उनले विद्यालय नवीकरण गर्ने नाममा नगरपालिकाभित्रका ठूला स्कूल र कलेजबाट पनि मोटो रकम उठाउँदै आउने गरेका छन् ।
त्यसरी नै उनले नगरपालिकाले विनियोजन गर्ने वडाहरुको बजेटमा समेत व्यवसायीहरुसँग मिलेर कमिसनको खेतीमा योजना विनियोजन गर्दै आएका छन् । व्यवसायीहरुको जग्गा छुवाउने उनीहरुको परियोजना कलकरखाना रहेका ठाउँमाा जहाँ व्यवसायीहरुले आफ्नै लगानीमा निर्माण गर्नुपर्ने बाटोहरुमा समेत उनले नगरपालिकाबाट बजेट विनियोजन गर्न लगाउने र पछि त्यसको आधा रकम सम्बन्धित व्यवसायीहरुबाट उठाउने गरेको अहिले कतिपय त व्यवसायीहरुले नै बताउने गरेका छन् ।