वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिका–४, तुल्सीबर्वास्थित छिपहरमाई मन्दिर परिसरमा विजयादशमीका दिन राजनीतिक दलका पोस्टर, ब्यानर र झण्डा राख्न तथा दलगत भोजभतेर र प्रचारप्रसार गर्न निषेध गरिएको छ।
छिपहरमाई गाउँपालिका–४ नं. वडा कार्यालयले सूचना जारी गर्दै आगामी कात्तिक ३ गते विजयादशमीका दिन मन्दिर परिसरमा कुनै पनि राजनीतिक दलका गतिविधि नगर्न सम्बन्धित सबैलाई जानकारी गराएको हो।
वडा कार्यालयका अनुसार छिपहरमाई मन्दिरमा करिब ५०० वर्षदेखि धार्मिक परम्पराअनुसार विजयादशमीका दिन भव्य मेला लाग्ने र भक्तजनले माताको दर्शन गर्ने चलन रहँदै आएको छ।
धार्मिक तथा सांस्कृतिक परम्पराको मर्यादा कायम राख्ने उद्देश्यले मन्दिर परिसरमा राजनीतिक दलका पोस्टर, ब्यानर र झण्डा लगाउने, दलगत भोजभतेर गर्ने तथा राजनीतिक प्रचारप्रसार गर्ने कार्य निषेध गरिएको सूचनामा उल्लेख छ।
वडा अध्यक्ष रामेश्वर महतो केवटद्वारा जारी उक्त सूचनाको बोधार्थ इलाका प्रहरी कार्यालय पोखरिया, सीमा प्रहरी कार्यालय भिस्वा बजार, इलाका प्रहरी कार्यालय भिस्वा तथा सशस्त्र प्रहरी बल, भिस्वालाई समेत पठाइएको छ।


तपाईको प्रतिक्रिया !