काठमाडौं । चर्चित रियालिटी शो ‘बिग बोस २०’ को आजको एपिसोडमा दर्शकले चर्को विवाद र हाई भोल्टेज ड्रामा देख्न पाउने भएका छन् । शोका प्रतिस्पर्धी यङ डीएसए र स्काउट ओपीबीच विवाद बढ्दै धक्कामुक्कीसम्म पुगेको छ ।
कार्यक्रमका निर्माताले सार्वजनिक गरेको नयाँ प्रोमोमा कुनै समय मिल्ने साथी रहेका यङ र स्काउटबीच चर्काचर्की भएको देखाइएको छ । प्रोमोमा यङ डीएसए कन्फेसन रुममा बसेर अब स्काउटसँग एउटै घरमा बस्न नसक्ने बताइरहेका छन् ।
उनले आफ्नो पहिलो कम्पनीको साथीसँग पनि झगडा भएको प्रसङ्ग सुनाएका छन् । त्यसपछि दृश्य परिवर्तन हुँदै आम्रपालीले स्काउटलाई ‘तिमी उसलाई हिर्काउन सक्दैनौ’ भन्दै सम्झाएको सुनिन्छ ।
प्रोमोमा दुवैबीच प्रत्यक्ष हात हालाहाल भएको दृश्य भने देखाइएको छैन । स्काउटलाई काजी तौकीरले पछाडिबाट सम्हालिरहेको र यङ डीएसएलाई गुल्लूले रोकिरहेको दृश्य देखाइएको छ । यस क्रममा काजीले स्काउटलाई ‘तँ बेवकुफ होस् ?’ भन्दै सम्झाएको पनि सुनिन्छ ।
प्रोमोको सम्पादनको प्रशंसा
प्रोमो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा दर्शकले यसको सम्पादनको प्रशंसा गरेका छन् । केही दर्शकले बिग बोसका पुराना अनुभवी सम्पादक फर्किएको टिप्पणी गरेका छन् भने कतिपयले यसलाई पछिल्ला दिनकै उत्कृष्ट प्रोमो बताएका छन् ।
टर्चर टास्कबाट विवाद सुरु भएको दाबी
यङ र स्काउटबीच विवाद हुनुको वास्तविक कारण प्रोमोमा खुलाइएको छैन । तर, रेडिटमा गरिएको एक पोस्टअनुसार टर्चर टास्कका क्रममा विवाद सुरु भएको दाबी गरिएको छ ।
उक्त पोस्टमा टास्कका क्रममा उदितिलाई भावनात्मक रूपमा कमजोर बनाउने उद्देश्यले स्काउटले उनको पारिवारिक तस्बिर जलाउने प्रयास गरेको उल्लेख छ । त्यसलाई गुल्लू र यङ डीएसएले रोक्न खोजेपछि विवाद सुरु भएको बताइएको छ ।
पछि भनाभन बढ्दै गालीगलौज र धक्कामुक्कीसम्म पुगेको दाबी गरिएको छ । यद्यपि, घटनाको वास्तविक कारण र विस्तृत विवरण आजको एपिसोड प्रसारण भएपछि मात्रै स्पष्ट हुनेछ ।


तपाईको प्रतिक्रिया !