स्थानीय तह निर्वाचनको तयारीमा जुटे राजनीतिक दल

NEWS DESK
२०८३ कार्तिक १६, सोमवार ०९:०४ बजे

काठमाडौं । आगामी स्थानीय तह निर्वाचनको मिति घोषणा नहुँदै प्रमुख राजनीतिक दलहरू चुनावी तयारीमा जुटेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीले आ–आफ्नो रणनीतिअनुसार निर्वाचनलक्षित गतिविधि अघि बढाएका छन्।

सत्तारूढ रास्वपाले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै ‘क्यान्डिडेट क्लब’ मार्फत विभिन्न पदका लागि उम्मेदवारी आवेदन माग गरेको छ। पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार उम्मेदवारी दिन इच्छुक व्यक्तिहरूबाट आवेदन आउने क्रम जारी छ।

उनका अनुसार गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्ष पदका लागि उल्लेख्य आवेदन परेका छन् भने वडा सदस्य पदका लागि तुलनात्मक रूपमा कम आवेदन प्राप्त भएका छन्। नगरपालिकाका विभिन्न पदमा पनि उम्मेदवारी दिन इच्छुक व्यक्तिहरूले आवेदन दिइरहेका छन्। पार्टीले निर्धारण गरेको विधि र प्रक्रियाअनुसार उम्मेदवार छनोटको काम अघि बढिरहेको उनले बताए।

यता, प्रमुख विपक्षी दल नेपाली कांग्रेसले निर्वाचनको तयारीका लागि उपसभापति पुष्पा भुसालको नेतृत्वमा इलेक्सन ब्युरो गठन गरेको छ। ब्युरोले आगामी निर्वाचनमा उम्मेदवार छनोटका लागि आवश्यक मापदण्ड निर्माण गरिरहेको पार्टीका सहमहामन्त्री अजयबाबु शिवाकोटीले जानकारी दिए।

शिवाकोटीका अनुसार कांग्रेसले वडा तहदेखि नै क्रियाशील सदस्यहरूको छनोटलाई प्राथमिकता दिँदै उम्मेदवार सिफारिस तथा टिकट वितरण गर्ने तयारी गरेको छ। उनले अब पार्टीका ठूला नेताको पहुँचका आधारमा नभई कार्यकर्ताको छनोटलाई प्राथमिकता दिएर उम्मेदवार बनाइने बताए।

त्यस्तै, नेकपा (एमाले) ले पनि स्थानीय तह निर्वाचनलक्षित सङ्गठनात्मक गतिविधिलाई तीव्रता दिएको छ। पार्टीका प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार एमालेले गत असारदेखि ‘मिसन पार्टी जागरण अभियान’ सञ्चालन गरिरहेको छ।

निर्वाचनको पूर्वतयारीस्वरूप स्थानीय तहमा केन्द्रीय प्रतिनिधि परिचालन गरी पार्टी बैठक, भेला तथा सदस्यता नवीकरणका कार्यक्रम अघि बढाइएको उनले बताए। एमालेले आगामी मङ्सिर २ र ३ गते राष्ट्रिय भेला, मङ्सिर २८ गते वडा अधिवेशन र पुस ४ गते पालिका अधिवेशन गर्ने कार्यक्रम तय गरेको छ।

यसैगरी, नेपाली कम्युनिस्ट पार्टीले पनि कात्तिक ७ देखि मङ्सिर २५ गतेसम्म सञ्चालन हुने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ। स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै सङ्गठन सुदृढीकरण र जनसम्बन्ध विस्तार गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको पार्टीका प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।

उनका अनुसार अभियानअन्तर्गत पार्टीका केन्द्रीय नेताहरू पालिका तहसम्म पुगेर सङ्गठनको अवस्था अध्ययन गरिरहेका छन्। साथै, आगामी निर्वाचनका लागि जनतामाझ लोकप्रिय र पार्टी कार्यकर्ताको रोजाइमा रहेका सम्भावित उम्मेदवारको पहिचान तथा सर्वेक्षणको कामसमेत भइरहेको छ।

स्थानीय तह निर्वाचनको मिति तय हुन बाँकी रहे पनि प्रमुख दलहरूले उम्मेदवार छनोट, सङ्गठन विस्तार, सदस्यता नवीकरण र चुनावी अभियानलाई प्राथमिकता दिन थालेका छन्। यसले आगामी स्थानीय निर्वाचनका लागि राजनीतिक दलहरू प्रारम्भिक तयारीमा जुटिसकेको सङ्केत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्