वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारीमा रहेका आफ्ना पालिकाका विद्यार्थीहरुलाई शैक्षिक सामग्रीसहित विदाई गरेको छ ।
आइतबार जगरनाथपुर गाउँपालिका–४ सण्ठीस्थित एक विद्यालयमा शिक्षा शाखाले आयोजना गरेको विदाई कार्यक्रममा गाउँपालिकाभित्रका तीन वटा माध्यमिक विद्यालयका एसईई दिन लागेका १ सय २० जना छात्र–छात्रालाई टि–सर्ट, डायरी र कलम वितरण गरिएको शिक्षा शाखा प्रमुख अशोक कुमार सिंहले जानकारी दिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले विद्यार्थीहरुलाई गाउँपालिकाको लोगो अंकित टी–सर्ट, डायरी र कलम प्रदान गरे । चैत १९ गतेदेखि सुरु हुन लागेको यस वर्षको एसईई परीक्षामा सफलता प्राप्त गर्न शुभकामना व्यक्त गर्दै अध्यक्ष यादवले एसईईपछि उच्च शिक्षा अध्ययनका क्रममा कुनै समस्या आएमा आफू वा प्रमुख प्रशासकीय अधिकृतसँग सिधै सम्पर्क गर्न आग्रह गरे ।
विदाई कार्यक्रममा गाउँपालिका अध्यक्ष यादव, उपाध्यक्ष बबीता सिंह क्षेत्री तथा प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवलगायतले विद्यार्थीहरुलाई खादा लगाएर सम्मानसहित विदाई गरेका थिए ।
गाउँपालिका अध्यक्ष यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिक्षा समितिका सदस्य, वडा सदस्य, विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।