पर्सामा फेरि २०७ केजी गाँजा बरामद: सामाजिक सञ्जालमा उठ्यो प्रश्न– ‘गाँजा समातिन्छ, तर तस्कर किन उम्किन्छन्?’



वीरगञ्ज । पर्साको ग्रामीण क्षेत्रबाट ठूलो परिमाणमा गाँजा पटक–पटक बरामद भइरहे पनि त्यसको मुख्य तस्करी सञ्जाल र लगानीकर्तासम्म अनुसन्धान पुग्न नसकेको भन्दै प्रहरीको अनुसन्धानमाथि सार्वजनिक रूपमा प्रश्न उठ्न थालेको छ।

मंगलवार पर्साको बिन्दवासिनी गाउँपालिका–५ तिलावे–भिष्वा सडकखण्डबाट २०७ केजी गाँजासहित एक पिकअप चालक पक्राउ परेपछि सामाजिक सञ्जालमा प्रहरीको अनुसन्धानको प्रभावकारिताबारे व्यापक बहस सुरु भएको हो।

इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी प्रसौनीभाठ्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले सवारी चेकजाँचका क्रममा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१३ निवासी अन्दाजी ४८ वर्षीय कृष्ण लामाले चलाएको प्रदेश ३–०१–०२४ च ५३८५ नम्बरको टाटा योद्धा पिकअप रोकी जाँच गर्दा सिमेन्टको बोराभित्र लुकाइछिपाइ राखिएको २०७ केजी गाँजा बरामद गरेको छ। प्रहरीले चालक, गाँजा र पिकअप नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ।

तर स्थानीयवासी तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले भने यस्ता घटनामा अधिकांश अवस्थामा भरिया वा चालक मात्र पक्राउ पर्ने, तर वास्तविक तस्करी सञ्जाल, लगानीकर्ता र मुख्य योजनाकार कानुनी दायरामा नआउने गरेको भन्दै प्रश्न उठाइरहेका छन्।

यस घटनापछि फेसबुकमा नेता छोटेलाल प्रसाद यादव, सन्तोष पटेल, युवा राम्भु पण्डितलगायतका प्रयोगकर्ताले “पर्साको ग्रामीण भेगबाट धेरै मात्रामा गाँजा पटक–पटक प्रहरीद्वारा समातिन्छ तर तस्कर समातिन? शङ्काको घेरामा सुरक्षा निकाय” भन्ने आशयका सार्वजनिक टिप्पणी गरेका छन्।

यी सार्वजनिक प्रतिक्रियाले लागूऔषध नियन्त्रणमा प्रहरीको अनुसन्धान केवल बरामदगी र भरिया पक्राउमै सीमित भएको हो कि भन्ने जिज्ञासा र बहसलाई थप बल दिएको देखिन्छ।

पछिल्ला दिनहरुमा इलाका प्रहरी कार्यालय पोखरिया मातहतका विभिन्न सीमा क्षेत्रबाट पटक–पटक ठूलो परिमाणमा गाँजा बरामद भएको सार्वजनिक तथ्याङ्क भए पनि ती घटनाका मुख्य तस्करी सञ्जाल, आर्थिक लगानीकर्ता वा योजनाकारको पहिचान र पक्राउबारे स्पष्ट उपलब्धि सार्वजनिक नभएको भन्दै स्थानीय तहमा पनि प्रश्न उठ्न थालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज