काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले चाडपर्वका बेला चोरी, लुटपाट, तस्करीलगायत आपराधिक गतिविधि नियन्त्रण गर्दै नागरिक सेवामा समर्पित भएर काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।
प्रहरी प्रधान कार्यालयबाट बुधबार भर्चुअल माध्यममार्फत सम्बोधन गर्दै आईजीपी कार्कीले दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन दिएका हुन्।
उनले सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको पालना, मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी चलाउने कार्य नियन्त्रण र यात्रुको सुरक्षित आवागमनमा विशेष ध्यान दिन आग्रह गरे।
त्यस्तै, जुवातास, पटका तथा विस्फोटक पदार्थको कारोबार नियन्त्रण गर्नुका साथै सामाजिक सद्भावमा खलल पुर्याउने गतिविधि रोक्न उनले निर्देशन दिए। सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण र फरार प्रतिवादी पक्राउलाई पनि प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो।
काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को सुरक्षा व्यवस्थापनमा कुनै कमजोरी हुन नदिन तथा अनलाइन बेटिङजस्ता गैरकानुनी गतिविधिमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन पनि उनले प्रहरीलाई निर्देशन दिए।
सम्भावित भारी वर्षा, चट्याङ र हावाहुरीबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै पूर्वतयारी र उच्च सतर्कतासहित प्रहरी परिचालन गर्न उनले आग्रह गरे।
आईजीपी कार्कीले प्रदेश तथा जिल्ला प्रहरी प्रमुखलाई आफ्नो कार्यक्षेत्रको नियमित अनुगमन गर्न र सुरक्षा व्यवस्थामा देखिएका कमजोरी समयमै सुधार गर्नसमेत निर्देशन दिएका छन्।


तपाईको प्रतिक्रिया !