काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सही समय आएपछि सबैको गलत समय आउने भन्दै सामाजिक सञ्जालमार्फत चेतावनी दिनुभएको छ। फेसबुकमा स्ट्याटस लेख्दै उहाँले एक–दुई जना उम्किन सक्छौँ भनेर सपना नदेख्नसमेत चेतावनी दिनुभएको हो।
प्रधानमन्त्री शाहले फेसबुकमा लेख्नुभएको छ, ‘सही समय आएपछि, सबैको गलत समय आउँछ, एक दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !’
प्रधानमन्त्रीले उक्त अभिव्यक्ति कसलाई लक्षित गरेर दिनुभएको हो भन्नेबारे भने स्पष्ट खुलाउनुभएको छैन। उहाँको स्ट्याटसले सामाजिक सञ्जालमा चर्चा पाएको छ।
उक्त स्ट्याटसमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले टिप्पणी गर्दै ‘सही समय भनेको कहिले हो, शनिबार आइतबार हो ?’ भन्दै प्रश्न गर्नुभएको छ।
यसअघि पनि सल्लाहकार बेनले फेसबुकमार्फत केही पत्रकारलाई लक्षित गर्दै टिप्पणी गर्नुभएको थियो। उहाँले ‘यो २८ जनामा पत्रकार को को पर्या हो ? २८ मा नपर्नु पनि के पत्रकार होइन त साथी हो ?’ भन्दै लेख्नुभएको थियो।
प्रहरीले गत शुक्रबार केही पत्रकारलाई पक्राउ गर्नुअघि प्रधानमन्त्रीको सचिवालयले २८ जना पत्रकारको सूची तयार पारेको भन्ने खबर सार्वजनिक भएपछि बेनको उक्त टिप्पणी आएको थियो।
यस विषयमा प्रधानमन्त्री शाहले पनि प्रतिक्रिया दिँदै ‘कुपन्डोल जाने मात्रै पत्रकार, अरू कलाकार ?’ भन्दै व्यंग्य गर्नुभएको थियो।
प्रधानमन्त्री र उहाँका सल्लाहकारका पछिल्ला सामाजिक सञ्जाल अभिव्यक्तिले पत्रकारको सूची, पक्राउ प्रकरण र त्यससँग जोडिएका विषयलाई थप चर्चामा ल्याएको छ।


तपाईको प्रतिक्रिया !