एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–जनकपुर र लुम्बिनी–पोखरा भिड्दै

NEWS DESK
२०८३ कार्तिक १७, मंगलवार ०९:०० बजे

काठमाडौं । जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज मंगलबार दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्स भिड्नेछन् भने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ।

आजको पहिलो खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ। प्रतियोगितामा तीन खेल खेलेको विराटनगर किङ्ग्सले एक जित र दुई हार बेहोरेको छ। यता जनकपुर बोल्ट्सले तीन खेलमध्ये दुईमा जित र एकमा हार व्यहोर्दै अंकतालिकामा आफूलाई बलियो अवस्थामा राखेको छ।

आजको खेल जित्दै जनकपुर आफ्नो स्थिति थप मजबुत बनाउने लक्ष्यमा हुनेछ। अर्कोतर्फ विराटनगर पनि दोस्रो जित निकाल्दै अंकतालिकामा सुधार गर्ने योजनासहित मैदानमा उत्रिनेछ।

यसैगरी, आजको दोस्रो खेल साँझ ५ बजे फ्लडलाइटमुनि हुनेछ। उक्त खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्।

लुम्बिनी लायन्सले दुई खेलबाट एक जित हात पारेको छ भने एक खेल वर्षाका कारण रद्द हुँदा अंक बाँडेको छ। लुम्बिनी आजको खेल जित्दै आफ्नो स्थिति थप मजबुत बनाउने लक्ष्यमा हुनेछ।

यता पोखरा एभेन्जर्स भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ। सुरुवाती दुवै खेलमा पराजित भएको पोखरा आज लुम्बिनीलाई हराउँदै जितको खाता खोल्ने प्रयासमा मैदान उत्रिनेछ।

आजका दुवै खेल अंकतालिकाको समीकरणका दृष्टिले महत्वपूर्ण रहनेछन्। विशेषगरी पोखराका लागि पहिलो जित निकाल्ने अवसर हुनेछ भने विराटनगर र जनकपुरबीचको प्रतिस्पर्धाले अंकतालिकामा थप प्रभाव पार्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

स्थानीय खबर

सबै हेर्नुहोस्