वीरगंज । सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ ईनरुवास्थित मन्दिर टोलमा छापामारी गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्सा, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज, बि.ओ.पि. सिर्सिया र वीरगञ्ज भन्सार कार्यालयबाट खटिएको टोलीले छापामारी गरेको हो ।
ईनरुवास्थित मन्दिर टोलमा भारतबाट अवैध रुपमा भन्सार छलीका सामग्री ल्याएर घरभित्र लुकाईछिपाई राखिएको कपडा बरामद गरिएको सशस्त्र प्रहरी बल पर्साका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंहले जानकारी दिए ।
उनकाअनुसार सात लाख ३१ हजार एक सय रुपैयाँ बराबरको कपडा बरामद गरिएको हो । यसअघि त्यस टोलमा ढुंगा मुढा समेत प्रहार भएको हुँदा यसपटक ठूलो जनशक्ति परिचालन गरेर छापामारी गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले बताए ।
बरामद कपडा आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले बताए ।