
जनकपुर, १८ असोज । मधेस प्रदेशको सत्तारुढ दलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ दिन मधेस प्रदेश सरकारलाई आग्रह गरेको छ ।
शुक्रबार बसेको सत्ता गठबन्धनको बैठकले विनाशकारी बाढी,पहिरो र डुबानबाट प्रभावित परिवारलाई राहत दिनेगरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मधेस सरकारका तर्फबाट ५१ लाख रुपैयाँ सहयोग गर्न मुख्यमन्त्री सतिशकुमार सिंहसंग आग्रह गरेको हो ।
सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको संख्या, नियुक्त पदाधिकारीका कार्य अवधि, कामकाजको प्रभावकारिता लगायतका विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नका लागि लोसपाका संसदीय दलका उपनेता उपेन्द्र महतोको संयोजकत्वमा समिति गठन पनि गरेको छ ।
उक्त समितिमा नेकपा एमालेका तर्फबाट प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोदकुमार जायसवाल, नेपाली काँग्रेसका तर्फबाट ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव र जनमत पार्टीका तर्फबाट प्रदेशसभा सदस्य सञ्जयकुमार यादव सदस्य रहेका छन् ।